मुहानै छेकिनुपर्छ मानसिक रोगको/ गोरखापत्र

source of mental problemsमुलुकमा मानसिक रोगीको सङ्ख्या बढ्नुलाई सम्बद्ध सबै पक्षले गम्भीरतासाथ लिनु जरुरी छ । ४० प्रतिशत जति युवा मानसिक रोगको सिकार भएको तथ्याङ्क निश्चय पनि सामान्य कुरो होइन । विश्व स्वास्थ्य सङ्गठनको ताजा अध्ययन अनुसार संसारभरि ४५ करोडभन्दा अधिक मानिस मानसिक समस्याग्रस्त छन् । मानसिक रोग लागेकामध्ये प्रतिवर्ष दसलाख जनाले आत्महत्या गर्नुलाई विकराल समस्या मान्नैपर्छ । नेपालका सन्दर्भमा खासगरी १४ देखि ३० वर्ष उमेर समूहका व्यक्ति मानसिक रोगबाट पीडित छन् ।

विशेषज्ञका भनाइ अनुसार मानसिक रोगीमा मुटु ढुकढुक हुने, जिउ गल्ने, नकारात्मक सोच आउने, डर लाग्ने, नरमाइलो अनुभूति हुने, आफूलाई निर्बल सम्झने, एकान्त रुचाउने, क्रोध बढ्ने, आत्मविश्वास ह्रास हुने, नकारात्मक भावना उर्लने, मर्न मन लाग्ने, थोरै बोल्ने, रसरङ्ग मन नपर्ने, रोउँ-रोउँ लाग्ने, थकान हुने, कतै जान मन नहुनेजस्ता लक्षण देखापर्छन् । मानसिक रोग अनेक प्रकारका हुन्छन् भने यसका कारकतìव पनि फरक हुनु स्वाभाविक हो तर यहाँ विशेषतः बेरोजगारी एवं आन्तरिक द्वन्द्वले मानसिक रोगीको सङ्ख्या बढाएको सम्बद्ध पक्षको दाबी छ । देशका प्रशस्त किशोर, युवा वर्ग मानसिक रोगी हुनु मुलुकका लागि दुर्भाग्यको विषय हो । यसले मुलुककै भविष्य अन्धकारपूर्ण बनाउने भएकाले मानसिक रोगविरुद्ध व्यापक अभियान आवश्यक छ ।

 

मनोचिकित्सकसँग परामर्श लिई केही महिना औषधी सेवन गरेर रोग केही शमन गर्न मद्दत नपुग्ने होइन तर रोगको मुहानै नछेकिएसम्मन् समस्या समाप्त नहुने निश्चित छ ।

प्रतिस्पर्धात्मक, खर्चिलो पढाइ सकेर पनि रोजगारी नपाउँदा अधिकांश युवा मानसिक रोगग्रस्त हुनु अस्वाभाविक होइन । बेरोजगारी अन्त्य गर्नेतर्फ नारामा बाहेक व्यवहारिक धरातलमा अर्थपूर्ण काम नहुनुले सर्वथा बित्याँस पार्दै लगिरहेको सबैसामु प्रस्टै छ । एकातिर बेरोजगारी त्यसमाथि कहिल्यै नसकिने द्वन्द्वका कारण युवा वर्ग थप व्यथित बनेका छन् । आˆनो भविष्य सुखद नदेखेकै कारण धेरैजसो युवा नैराश्यको सागरमा गोता लगाउन बाध्य बनेका छन् । राजनीतिक उडानका जतिसुकै ठूला, गर्विला उपलब्धि बखानिए पनि पेटपालोका समस्यामा उल्झिएकालाई सधैँभरि यो आकर्षक पक्ष नरहने वास्तविकतालाई मनन गर्न ढिलाइ गरिनु बुद्धिमानी होइन । 'राजनीतिक क्रान्तिपछि अब पालो आर्थिक क्रान्तिको' नेतृत्व वर्गले उरालेकै नारा हो । नारालाई धारामा रूपान्तरित गर्नेतर्फचाहिँ इमानदारी कायम हुन नसकेकाले मानसिक रोग बढाउन मद्दत पुर्‍याएको यथार्थ स्वीकार्नैपर्छ । युवा वर्गमात्रै मानसिक रोगपीडित रहेको ठानिनु पनि उचित हुँदैन । हरेक उमेर समूहमा यसको लक्षण पाउनसकिन्छ । ज्येष्ठ नागरिकतर्फ पनि यो समस्या बढ्दो छ । छोरा, छोरीले नहेरिदिने र राज्यले नदेखेझैँ गर्ने परिपाटीका कारण कैयन् बूढाबूढीको हबिगत कहालीलाग्दो छ । घर, परिवारमा यथोचित ध्यान नपुर्‍याइएका जुनसुकै व्यक्ति मानसिक रोगग्रस्त हुनपुग्छन् । असफल प्रेम, यौन, महìवाकाङ्क्षाजस्ता पक्षले पनि मानसिक रोगी बढाएकै छन् । मानसिक रोगका सम्बन्धमा राज्यले आँखा चिम्लिरहेमा रोगी बढ्दै जाने र मुलुकको भविष्य धरापमा पर्नेछ । सरकारले स्थितिलाई गम्भीरतासाथ मनन गरी अपेक्षित दिशामा अल्पकालीन तथा दीर्घकालीन सिलसिला बढाउनसके स्थिति नियन्त्रणमा आउनसक्छ ।
 
॰[साभार: गोरखापत्र/सम्पादकीय]