Hypnosis is a scientifically verified technique which promotes the accelerated human change

मेरो छोरा मसंग नजिक हुनै मान्दैन !

Father and sonम ४५ वर्षो पुरुष हुँ , मेरो एकमात्र छोरा छ । म उसलाई एकदम माया गर्छु तर ऊ मसंग नजिक हुनै मान्दैन । म कति बहाना खोज्छु ऊ संग कुरा गर्नको लागि, तर म जति जति नजिकिन खोज्छु ऊ त्यति त्यति टाढिन्छ । मलाई ऊ किन मसंग भाग्छ भन्ने विषयले असाध्यै पिरोल्छ । मनमा अनेकौंथरि कुरा खेल्छन् र डर लाग्छ । यो अवस्थामा मैले के गर्दा राम्रो होला? ~ पुष्पलाल महर्जन, कलंकी, काठमाडौ ।
 
पुष्पलालजी, प्रश्नको लागि धन्यवाद । सामान्यतया, मानिसको जीवनमा सबैभन्दा प्यारो नै उसको सन्तान हुन्छ । मानिसले जे जति मिहिनेत गर्छ , सन्तानको भविष्य उज्वल होस् भन्ने सोचेर गर्छ । 

र, आफ्नो सन्तानको सुखका लागि तल्लीन रहन्छ । आफूले सक्ने हरेक किसिमका चाहना पूरा गरिदिन्छन् । आफ्ना सन्तानका लागि सम्पूर्ण तवरले समर्पित हुन्छ ।
 
यति हुँदाहुँदै पनि अभिभावकले आफ्ना सन्तानलाई माया गर्ने, सुरक्षा दिने र संस्कार सिकाउने नाममा बन्धनमा राख्न चाहन्छन् । आफ्ना छोराछोरीले  आँखामा पनि हेर्न नसक्ने गरी अनुशासनमा राख्न चाहन्छन् । आफूले पुरा गर्न नसकेका सपनाहरु पुरा गरिदिऊन् भन्ने इच्छा पनि आफ्ना सन्तानमाथि राख्छन्, र अनावश्यक बोझ र भार हुने गरी पढ्न वा काम गर्न लगाउँछन् । धेरै माया गर्ने नाममा आँखा अगाडि नै राख्ने कोसिस समेत गर्दछन् ।
 
बाल्यवस्थामा अनावश्यक रुपमा कडा अनुशासनमा राख्नाले उनीहरु अभिभावकसंग टाढा हुन खोज्छन् । शायद आफूले चाहे जस्तो माया, ममता र सुरक्षा नपाएका कारण पनि उनीहरु अभिभावकसंग टाढा हुन खोज्छन् । फेरि, बालबालिकाले अभिभावकले मलाई माया गरेको हो भन्ने महसुस गर्न, नजानेर या अभिभावकसंग  डराएर पनि नजिक आउन नमान्न सक्छन् ।
मानिस स्वभावैले स्वतन्त्रता मन पराउने जीव हो । उमेरका कारण पनि बालबालिकाले स्वतन्त्रता चाहने, या एक्लै बस्न मनपराउने हुन सक्छ । घरमा आफू अनुसारको वातावरण नपाएर वा सिर्जना गर्न नसकेर पनि एक्लै बस्न रुचाउने भएका हुनसक्छन् । यस्ता अन्य धेरै कारणहरु हुन्छन् जसले गर्दा कोही कोही मानिसहरु एक्लै बस्न मन पराउने हुनसक्छन् ।
 
पुष्पलालजी, तपाईंले आफ्नो छोराको बारेमा जिज्ञासा राखेर प्रश्न पठाउनुभएको छ । छोरा के कारणले आफूबाट टाढा भागेको हो भन्ने चिन्तासहित यसको समाधानका लागि तत्पर हुनुभएको छ भन्ने यो प्रश्नमा स्पष्ट छ । तपाईंलाई आफ्नो एकमात्र छोरा आफूसंग टाढा भागेका कारण चिन्ता लाग्नु, छटपटी हुनु र मनमा कुरा खेल्नु स्वभाविक हो । मैले बुझें, तपाईंलाई अत्यन्तै गाह्रो भैरहेको छ । छोराले मलाई माया नै गर्दैन कि भन्ने डर पनि लागिरहेको छ । अव तपाईं छोराले आफूलाई माया गर्छ भनेर निर्धक्क हुनसक्नुहुन्छ ।
 
तपाईंको छोराको उमेर कति हो भन्ने पनि खुलाउनुभएको भए राम्रो हुन्थ्यो । अनि, उसको बाल्यकाल कस्तो रहेको थियो भन्ने कुरा पनि महत्वपूर्ण विषय हो । उसको स्वभाव कस्तो छ र के कस्ता विषयमा रुचि राख्छ भन्ने थाहा पाउनु आवश्यक छ ।  ऊ तपाईंसंग मात्र टाढा हुन खोज्छ कि अरु व्यक्तिहरुसंग पनि टाढा हुन खोज्छ भन्ने पनि थाहा पाउनु जरुरी छ । अन्य व्यक्तिहरुसंग, साथीहरुसंग, घरका अन्य सदस्यसंग उसको सम्बन्ध कस्तो छ भन्ने पनि एकदमै महत्वपूर् हुन्छ । उसको पढाइ कस्तो छ र अन्य कृयाकलापमा उपस्थिति कस्तो छ भनेर पनि बिचार पुर्याउनुपर्छ । यसका साथै , तपाईंको र उसको सम्बन्ध कस्तो छ, दिनमा कति समय संगसंगै बिताउनुहुन्छ र संगै हुँदा केकस्ता विषयमा कुराकानी गर्नुहुन्छ भन्ने कुरामा ध्यान दिनुहोस् ।
 
अबदेखि तपाईं यस्ता सम्पूर्ण तत्वहरुलाई एकदमै गम्भीर भएर सोच्नुहोस् । छोरालाई सहज महसुस हुने गरी उपस्थित हुने प्रयास गर्नुहोस् । उसलाई पिता भन्दा साथीजस्तो भएर कुराकानी र व्यवहार गर्न कोसिस गर्नुहोस् । आफूसंग छोरा टाढा हुन खोज्नुका कारण के होला त भनेर चिन्तन गर्नुहोस् । उसलाई पनि आफूलाई उसको चिन्ता लागेको कुरा बताउन सक्नुहुन्छ । घरका अन्य सदस्यहरुको पनि सहयोग लिन सक्नुहुन्छ । ऊसंग नजिक हुनका लागि उसका हरेक कृयाकलापमा साथ दिने र उसकै शैलीमा छलफल गर्न सक्नुहुन्छ । यसरी ऊसंग अलिअलि गरेर घुलमिल हुने र उसलाई बुझ्ने काम हुनसक्छ । यसका लागि अलि समय पनि लाग्नसक्छ, किनभने, अहिले त ऊ तपाईंसंग अलि टाढा हुन चाहन्छ । ऊसंग नजिक भईसकेपछि बिस्तारै बिस्तारै उसमा अन्य केही समस्या छ कि भनेर पनि पत्ता लाग्नसक्छ । जसले तपाईंलाई उसलाई बुझ्न, सहयोग गर्न र ऊसंग नजिक हुन अझ बढी मद्धत गर्छ ।
 
जसै तपाईं आफ्नो छोराको प्रकृति र स्वभाव बुझ्नुहुन्छ, संगसंगै घुलमिल गर्न सक्नुहुन्छ, तपाईंको राति निद्रा नलाग्ने, छटपटी हुने, मनमा कुरा खेल्ने जस्ता अन्य समस्याहरु पनि निराकरण हुनेछ । यदि यति गर्दा पनि तपाईंको समस्यामा सुधार आएन भने नजिकैको मनोविमर्शकर्तासंग सम्पर्क राख्नसक्नुहुन्छ । यस्ता मनोसामाजिक समस्याको समाधान मनोविमर्श नै हो ।